काठमाडौं । संसदीय छानबिन समितिले गोर्खा मिडिया प्रालि सूर्यदर्शन सहकारीसहित ५ वटा सहकारीको रकम अपचलन भएको निष्कर्ष निकालेको छ । पाँच वटा सहकारीको सहित कुल २ अर्ब ५६ करोड रुपैयाँ कारोबार भएको भेटिएको छ । यसमध्ये ६५ करोड रुपैयाँ गोरखा मिडियामा अपचलन भएको समितिको निष्कर्ष छ ।
समितिले गोर्खा मिडिया प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलाई पनि रकम अपचलनमा दोषी ठहर गर्दै उनलाई प्रचलित कानुन बमोजिम कारबाही गर्न सिफारिस गरेको छ ।
सहकारीबाट रकमबाट गोर्खा मिडियामा ल्याएको ६५ करोड ५४ लाख रकम जीबी राई र रवि लामिछानेलेचेक काटेर खर्च गरेका छन् । समितिले सोमबार बुझाएको प्रतिवेदनमा पैसा खर्च गर्न रविको संलग्नता रहेकाले कारबाहीको सिफारिस गरेको छ ।
कम्पनीका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक छविलाल जोशीले केवाईसी फर्म भरेर चेकमा हस्ताक्षर गर्ने गरी दुई वटा बैंकमा संयुक्त खाता सञ्चालन गरेको समेत छानबिनबाट पुष्टि भएको छ।