काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५० दशमलव ७३ अङ्क अर्थात् एक दशमलव ८८ प्रतिशतले घटेर दुई हजार छ सय ३७ दशमलव ७९ को बिन्दुमा कायम भएको छ । साताको पहिलो दिन सेयर बजार समग्रमा घट्दा सबैभन्दा धेरै भने वित्त र पर्यटन समूहमा गिरावट आएको छ ।
लगातार छ कारोबार दिनसम्म घटेको नेप्से परिसूचक गत साता कारोबारको अन्तिम दिन उच्च अङ्कले बढेको थियो । तर बजार सम्हालिन नसक्दा आज पुनः घटेको छ । आज विभिन्न तीन सय २४ कम्पनीका दुई करोड ४८ लाख ४६ हजार सात सय ८२ कित्ता शेयर एक लाख १९ हजार सात सय ३९ पटक खरिदबिक्री हुँदा रु १० अर्ब ३३ करोड ९२ लाख ३५ हजार नौ सय ५७ बराबरको कारोबार भएको छ । यो कारोबार रकम पछिल्ला सात दिनमा सबैभन्दा उच्च हो ।
आजको कारोबारपछि वित्त समूह र होटल तथा पर्यटन समूहको उपसूचकमा उच्च गिरावट देखिएको छ । आज दुई सय १९ कम्पनीको शेयर मूल्य घट्दा २४ वटाको मात्रै बढेको छ ।