काठमाडौं खबर भदौ ३०, २०८१
काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर १६ गते निर्वाचन गर्नेगरी मिति तय गर्न सरकारलाई सुझाव दिएको छ । आइतबार आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहितका पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आगामी मंसिर १६ गते (आइतबार) स्थानीय तहको उपनिर्वाचनको मिति तोक्न परामर्श दिएका हुन् ।
भेटमा सरकारको तर्फबाट प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, मुख्यसचिव एकनारायण अर्याललगायत सहभागी थिए । त्यस्तै, आयोगका तर्फबाट प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालगायत आयुक्तहरूको सहभागिता रहेको थियो ।
स्थानीय तहमा हाल रिक्त जिल्ला समन्वय समितिका दुई प्रमुखसहित ४१ जनप्रतिनिधिको बाँकी कार्यकालका लागि हुन लागेको निर्वाचन गर्नेबारे भएको बैठकमा यस्तो परामर्श दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।