काठमाडौं खबर भदौ ३०, २०८१
काठमाडौं । नेपाली सेना र अमेरिकी सेनाबीच आजदेखि संयुक्त सैन्य अभ्यास ‘प्यासिफिक एन्जल’ हुने भएको छ। अभ्यासमा विभिन्न प्रकारका विपद्को दौरान सञ्चालन गरिने खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन अपनाउनुपर्ने विद्यमान विधि तथा प्रक्रियाका सम्बन्धमा ज्ञान आदान प्रदान हुने बताइएको छ ।
काठमाडौँ, मकवानपुर र धादिङ जिल्लामा सोसम्बन्धी विभिन्न अभ्यासहरु सञ्चालन हुनेछन्। सन् २०१२ बाट सुरु भएको उक्त अभ्यासको यो चौथो संस्करण हो। अभ्यास असोज ४ गतेसम्म चल्ने छ।
विपद् व्यवस्थापन तथा मानवीय सहयोगको क्षेत्रमा अनुभव आदानप्रदान गरी विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले संयुक्त सैन्य अभ्यास गर्न लागिएको नेपाली सेनाले जनाएको छ।