काठमाडौं खबर भदौ २९, २०८१
रामपुर । पाल्पाको रामपुर नगरपालिकाले औँसी र एकादशीका दिन पशु बध गर्न नपाउने निर्णय गरेका छन् । नगरपालिकाले एक सूचना जारी गर्दै नगरपालिकाले धार्मिक सहिष्णुता र सद्भाव कायम राखी धार्मिक आस्थामा असर नपुर्याउने उद्देश्यले औँसी र एकादशीका दिन पशुपक्षी बध नगर्न अनुरोध गरेको हो ।
नगर प्रमुख रमणबहादुर थापाले एकादशी र औँसीको दिन धार्मिक सांस्कृतिक परम्पराअनुसार पशु बध गर्न नहुने भएकाले सोही धार्मिक मान्यतालाई निरन्तरता दिनका लागि सो दिन बध नगर्न नगरवासीलाई आग्रह गरिएको बताए ।
उनका अनुसार एकादशी र औँसीमा पशुपक्षी बध गर्दा धार्मिक आस्थामा असर पुगेको नगरवासीबाट गुनासो आएपछि नगरपालिकाले बध नगर्ने निर्णय गरेको हो । नगरपालिकाको निर्णय र सूचनालाई बेवास्ता गरी एकादशी र औँसीमा पशु बध गरेको पाइएमा कारबाही गरिने नगरपालिकाले जनाएको छ ।