काठमाडौं खबर भदौ २८, २०८१
काठमाडौं । अमेरिकी सेनाको एउटा टोली काठमाडौं आइपुगेको छ । नेपाली सेनासँग संयुक्त अभ्यास गर्नका लागि एउटा टोली नेपाल आएको नेपाली सेनाको मुख्यालयले जनाएको छ । टोलीमा कति जना सेना छन् भन्ने बारेमा भने जंगी अड्डाले केही पनि उल्लेख गरेको छैन ।
प्यासिफिक एन्जल नाम दिइएको सो अभ्यास भदौ ३० देखि छ दिनसम्म चलेको छ । जंगी अड्डाका अनुसार काठमाडौं, मकवानपुर र धादिङ जिल्लाहरूमा विभिन्न अभ्यासहरू सञ्चालन हुनेछन् । १२ वर्षअघि सुरू भएको अमेरिकासँगको यस्तो अभ्यासको यो चौथो संस्करण हो ।
नेपाली सेना र संयुक्त राज्य अमेरिकी सेनाबीच विगत लामो समयदेखि विपद् व्यवस्थापन तथा मानवीय सहयोगको क्षेत्रमा अनुभव आदानप्रदान गरी विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न अभ्यासहरू सञ्चालन हुँदै आइरहेको जंगी अड्डाले जनाएको छ ।