काठमाडौं । नेपाली कांग्रेसले कार्यसम्पादनमा उत्कृष्ट मूल्यांकनमा परेका २१ पालिकालाई सम्मान गरेको छ । आफ्नो पार्टीबाट जनप्रतिनिधि रहेकामध्ये २१ वटा उत्कृष्ट पालिकालाई काँग्रेसले सम्मान गरेको हो । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार पार्टीको स्थानीय तह समन्वय विभागले आयोजना गरेको कार्यक्रममा सभापति शेरबहादुर देउवाले ती पालिका प्रमुखलाई सम्मान गरेका हुन् ।
राज्यस्तरबाट तोकिएका मापदण्डअनुसार नै उत्कृष्ट बनेका पालिकालाई सम्मान गरिएको विभागका प्रमुख मधु आचार्यले जानकारी दिए ।
सम्मान पाउनेमध्ये रूपन्देहिको तिलोत्तमा, धादिङको नीलकण्ठ र चितवनको रत्ननगर नगरपालिका देशभरका सबै स्थानीय तहमध्ये उत्कृष्टमा परेका छन् । बाँकी पालिका भने सरकारको आर्थिक जोखिमसम्बन्धी अध्ययन, महालेखा परीक्षकको प्रतिवेदनले कम बेरुजु देखाएका र खर्च बढी गरेर परिणाम देखाउनुलाई आधार बनाइएको प्रमुख आचार्यले जानकारी दिए ।