काठमाडौं । निर्माण सम्पन्न हुनुभन्दा अघि नै उद्घाटन भएको धरहरा फेरि पनि निर्माण सम्पन्न हुनुभन्दाअघि नै सञ्चालनमा ल्याउने तयारी भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संविधान दिवसको दिनदेखि पुन: अस्थायी रूपमा धरहरा सञ्चालनमा ल्याउने निर्णय गरेको थियो ।
आधा पनि निर्माण सम्पन्न नहुँदै २०७७ साल वैशाख ११ गते तत्कालीन केपी शर्मा ओलीले धरहरा उद्घाटन गरेका थिए । तत्कालीन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले केपी ओलीको पूर्वकार्यकालमा नै उद्घाटन गरेका थिए । त्यसको साढे ४ वर्ष पछि पनि निर्माण सम्पन्न नभई अस्थायी रूपमा मात्रै सञ्चालन गरेको हो ।
उनका अनुसार धरहरा सञ्चालनको जिम्मेवारी संघीय सरकारको शहरी विकास मन्त्रालयलाई दिइएको छ । २०७२ को भूकम्पले भत्किनुअघि संघीय सरकारले काठमाडौं महानगरपालिकालाई धराहरा सञ्चालन तथा व्यवस्थापनको जिम्मा दिएको थियो । महानगरपालिकाले एक निजी कम्पनीलाई ठेक्कामा दिएको थियो । बिहीबारको मन्त्रिपरिषद बैठकले धरहरा सञ्चालनसम्बन्धी यसअघिका सबै निर्णय खारेज गरेको ती मन्त्रीले जानकारी दिए ।
प्राधिकरणले २०७७ असोज २० गते भित्र धरहराको सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने गरी रमन कन्स्ट्रक्सनसँग २०७५ सालमा सम्झौता गरेको थियो । त्यस लगत्तै रमन कन्स्ट्रक्सनले २०७५ कात्तिक महिनादेखि निर्माण कार्य सुरु गरेको थियो । बाहिरबाट हेर्दा पुरानै डिजाइनको ११ तला जस्तो देखिने धरहरामा अहिले भित्री संरचना २२ तलाको छ । यसको उचाइ जमिनबाट ८३.५८ मिटर छ । १९९० सालको भूकम्पअघि धरहरा ११ तला अग्लो थियो । त्यसबेला २ तला भत्किएर ९ तलामा सीमित बनेको थियो ।