काठमाडौं खबर भदौ २७, २०८१
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले दशैं लक्षित सुकिला नोट असोज १३ गतेदेखि दिने भएको छ । यो साल नयाँ नोटको साँटो सुकिला नोट दिने निर्णय गरेको बैंकले १० दिनसम्म देशभरका विभिन्न केन्द्रबाट सुकिला नोट दिने निर्णय गरेको हो ।
बैंकका अनुसार दशैंमा माग हुने साना दरका नोट सटहीका लागि राष्ट्र बैङ्कको मुद्रा व्यवस्थापन विभाग, बैङ्किङ विभाग र प्रदेशस्थित कार्यालयबाट सुकिला नोट सटही गर्न सकिने राष्ट्र बैङ्कले जनाएको छ। प्रदेश कार्यालय विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीबाट सुकिला नोट सटही गर्न सकिने राष्ट्र बैङ्कले जनाएको छ।
साथै, बैङ्क तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट समेत सुकिला नोट सटही गर्ने व्यवस्था मिलाइएको छ। ग्राहकले आफ्नो खाता रहेको बैङ्क वा पायक पर्ने नजिकको बैङ्क तथा वित्तीय संस्था वा नेपाल राष्ट्र बैङ्कमा गई नोट सटही गर्न सक्ने राष्ट्र बैङ्क मुद्रा व्यवस्थापन विभागले जनाएको छ।
हरेक वर्ष दशैंका लागि नयाँ नोट बाँड्दै आएको राष्ट्र बैङ्कले यसपालि सुकिला नोटले काम चलाउने लागेको हो। दशैंतिहारलक्षित नयाँ नोट सहटी गर्दै आएको राष्ट्र बैङ्कले खर्चको व्यवस्थापन गर्न नयाँ नोटलाई बन्द गरेको हो। खर्चको व्यवस्थापन गर्न राष्ट्र बैङ्कले केही वर्ष अघिदेखि नयाँ नोटको सट्टा सुकिला नोट दिने अभ्यासलाई अघि बढाउने योजना बनाए पनि अगाडि बढेको थिएन।
दशैं को मनोविज्ञान नयाँ नोटसँग जोडिएको हुँदा सर्वसाधारणलाई केही असजिलो लाग्ने भए पनि बिस्तारै सामान्य अवस्था आउने राष्ट्र बैङ्कको अपेक्षा रहेको छ। डिजिटल कारोबारलाई प्रोत्साहन गर्न र नोट छपाइ खर्च कम गर्ने यस्तो निर्णय गरे को राष्ट्र बैङ्कले जनाएको छ।