काठमाडौं । सरकारले सरकारी निकायमा सेयर कारोबारको अनलाइन प्रणाली टिएमएस बन्द गरेको छ । सेवाग्राहीलाई सेवा दिने समयमा सरकारी कर्मचारी सेयर कारोबारमा व्यस्त भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनबमोजिम टिएमएस बन्द गरेको छ ।
विशेषगरी प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र कार्यालय समयमा आवश्यक काम छाडेर कर्मचारी सेयर कारोबारमा व्यस्त भएको भनी लिखित तथा मौखिक उजुरीपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुमगन गरेको थियो ।
आयोगको अनुमगनपछि यही भदौ २१ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई पत्राचार गरेको थियो । आयोगको निर्देशनका आधारमा मन्त्रिपरिषद् कार्यालयले कार्यालय समयमा शेयर कारोबार गर्ने प्रणाली (टिएमएस) सञ्चालन नगर्न आग्रह गरेको छ । कार्यालयमा बसेर शेयर बजारमा निजी कारोबार गर्नु जायज नभएको ठहर गर्दै सबै मन्त्रालय, आयोग, सचिवालय, सात वटै प्रदेशका प्रमुख सचिव, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरिएको हो ।
मङ्गलबार प्रधानमन्त्री केपी शर्मा ओलीले समेत सामाजिक सञ्जालमार्फत सरकारी कार्यालयमा टिएमएस प्रतिबन्ध लगाएको जानकारी दिएका थिए । उनले उल्लेख गरे,’सरकारी कार्यालयमा बसेर शेयर बजारमा निजी कारोबार गर्नु कानुनी दृष्टिले पनि अमान्य छ । यसले सरकारी कामकाजमा प्रतिकूल प्रभाव परेको छ र सेवाग्राहीको काम प्रभावित भएको गुनासो आइरहेको छ ।