काठमाडौं । सरकारले देशका सबै पालिकामा कित्ताकाट खुलेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले देशका सबै पालिकामा आगामी असारसम्मको लागि कित्ताकाट खोल्ने निर्णय गरेको छ । सरकारले जग्गा वर्गीकरण नहुँदा छ सय २० पालिकामा रोकिएको कित्ताकाट खुलाएको छ । भू–उपयोग नियमावली, २०८० लाई संशोधन गर्दै जग्गा वर्गीकरणका लागि आगामी असारसम्मको समय थप गर्दै फेरि कित्ताकाट खुलाएको हो।
मुलुकका सात सय ५३ पालिकामध्ये एक सय ३३ पालिकाले मात्रै हालसम्म पूर्ण जग्गा वर्गीकरण गरेको नापी विभागले जनाएको छ। पालिकाहरूले जग्गा वर्गीकरण नगर्दा भदौयता छ सय २० पालिकामा कित्ताकाट रोकिएको थियो । सरकारले जग्गा वर्गीकरणका लागि समय थप गर्दै कित्ताकाट खुलाएको हो । पालिकाहरूले आगामी असारमसान्तसम्म जग्गा वर्गीकरण गरेनन् भने फेरि कित्ताकाट रोकिने समेत उनले प्रस्ट्याए ।
सरकारले जग्गा वर्गीकरणको समय थप गर्न भू–उपयोग (पहिलो संशोधन) नियमावली, २०८० संशोधन गरेको हो । भू–उपयोग ऐन, २०७६ आएको ३ वर्षपछि सरकारले २०७९ जेठ २३ मा भू–उपयोग नियमावली जारी गरेको थियो । नियमावलीअनुसार पालिकाले कृषि र गैरकृषि छुट्याइसकेपछि मात्र कित्ताकाट गर्न पाइन्थ्यो । सरकारको यो नीतिका कारण सोही वर्षको साउनदेखि कित्ताकाटसँगै समग्र घरजग्गा कारोबार घट्न थालेको थियो ।