काठमाडौं खबर भदौ २५, २०८१
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले उपसभामुख इन्दिरा रानाको राजीनामा माग गरेको छ । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा एमाले सांसद पदम गिरीले संसद्को मर्यादा र गरिमालाई कायम राख्न उपसभामुख इन्दिरा रानाले राजीनामा दिइ मार्गप्रशस्त गर्नुपर्ने विचार व्यक्त गरेका हुन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले संसद्को गरिमामय व्यक्ति उपसभामुखले लिने निर्णय र गरिने व्यवहार संसद्को गरिमासँग जोडिने बताए ।
‘उपसभामुखले सम्मानित संसद्को मर्यादा र गरिमालाई कायम राख्दै संसद्मा विषय उठेको लामो समयसम्म पनि बेवास्ता गर्नुभएको छ’, उनले भने, ‘संसद्को गरिमालाई बचाउनका निम्ति राजीनामा दिएर मार्गप्रशस्त गर्न राम्रो हुन्छ । व्यक्तिप्रति कुनै आग्रह पूर्वाग्रह छैन । तर, संसद्को गरिमामय व्यक्ति उपसभामुखले लिने निर्णय र व्यवहार संसद्को गरिमासँग जोडिन्छ ।’
उपसभामुख रानाले अमेरिकामा आयोजित एक कार्यक्रममा सहभागी हुन संसद्भन्दा बाहिरका व्यक्तिका नाममा दूतावासलाई सिफारिस पत्रलेखेर संसद्को गरिमामाथि आचर पुर्याएको दाबी गरे।