काठमाडौं खबर भदौ २०, २०८१
काठमाडौं । सहकारी ठगी सम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदन आउनै लाग्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सत्तारुढ दलका शीर्ष नेताहरूसँग भेटघाट बढाएका छन् । सहकारीको रकम अपचलनमा संसदीय छानबिन समितिलाई बयान दिएपछि उनले प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवा निवासमा दौडधुप सुरु गरेका छन् ।
पोखराको सूर्यदर्शन सहकारीको बचत रकम ठगी र हिनामिना प्रकरणमा प्रहरीले दोस्रो चरणको अनुसन्धानलाई तीव्रता दिने क्रममा लामिछानेसहितका आरोपितसँग बयान लिएको थियो । सो विषयमा अनुसन्धान तीब्र हुन थालेपछि लामिछानेले आफूलाई बचाइदिन आग्रह गर्दै देउवा र ओली निवासमा दौडधुप सुरु गरेका हुन् ।
१० भदौमा प्रहरीको बयान सकिएलगत्तै लामिछानेले प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवालाई भेटेका थिए । स्रोतका अनुसार उनले कांग्रेस बैठकमा सभापति देउवासँग दुईपटक र प्रधानमन्त्री ओलीसँग तीनपटक भेटेका थिए । लामिछानेले आफूलाई भेटेको सभापति देउवाले पार्टी बैठकमा नै जानकारी गराएका थिए भने ओलीले पनि आफ्नो पार्टी बैठकमा सो कुरा सुनाएका थिए ।
पहिले तीन बा, भ्रष्टाचारमा लिप्त भएका नेता जस्ता आरोप लगाउँदै राजनीतिमा उदय भएका उनी अहिले आफैँ यो प्रकरणमा उन्मुक्ति पाउनका लागि शीर्ष नेताको घरमा दौडधुप बढाउन थालेका छन् । आफू सो प्रकरणमा निर्दोष रहेको दाबी गर्दै आएका लामिछाने समितिको रिपोर्ट आउनुपूर्व धौडधूपमा लाग्नुले उनको यसमा संलग्नता रहेको पुष्टि गराएको छ ।
उनको दौडधुपपछि समितिले प्रतिवेदन व्यक्ति केन्द्रीत नगर्ने संकेत गरेको छ । यसमा रविकै दौडधुपले काम गरेको विश्लेषण गर्ने गरिएको छ ।