काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नाबालिकालाई घरेलु कामदार बनाउने एमाले सांसदलाई ओलीले संरक्षण गरेको बालेनको आरोप लगाएका छन् । महानगरपालिकाले नेकपा एमालेकी सांसद रेखा शर्माले विगत आठ वर्षदेखि बन्दी बनाएर राखेको भेटिएपछि सो विषयमा अदालतले समेत पक्राउ गर्न आदेश दिए पनि ओलीले उनलाई संरक्षण गरेको आरोप लगाएका छन् ।
उनले आइतबार सामाजिक सञ्जाल फेसबुकमा काठमाडौं महानगरले विगत दुई महिनादेखि कारबाही अगाडि बढाउन भन्दा पनि सरकारले पक्राउ नगरेको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले अदालतले समेत मुद्दा चलाउ भनिसकेको अवस्थामा सुशासनको हवाला दिने ओली सरकारले उनलाई नसमाएको बालेनको आरोप छ । उनले फेसबुकमा लेखेका थिए ‘सम्माननीय प्रधानमन्त्री खड्ग प्रसाद ओलीज्यू, सुशासन भनेको अदालतले नि समाउ भनेको तपाईंको सांसद रेखा शर्मा जसलाई बाल शोषण गरेको मुद्दा छ समाउनलाई भन्छ । सायद तपाईंको लागि सुशासनको अर्थ सो बालिकाको मृत्युपछि गोहीको आँसु चुहाएर फेसबुकमा समवेदना दिँदै एक लाख घोषणा गर्नु नै होला । कहिले समाउने ?? कि नसमाउने ??’
आइतबार यो स्टाटस लेखेका बालेन सोमबार पनि रोकिएनन् । सोमबार अर्को स्टाटस लेखेर प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आफ्ना कार्यकर्ताहरूलाई सामान्य ज्ञान दिएर राजनीतिमा ल्याउन सुझाव दिएका छन् । आइतबारको बालेनको स्टाटसपछि सो स्टाटसपछि एमालेको भातृ संगठन अनेरास्ववियूका अध्यक्ष समिक बडालले मेयर बालेनप्रति आक्रामक हुँदै भारतीय खुफिया एजेन्सीको सहयोगमा जनताको आँखामा छारो हाल्ने काम गरेको आरोप लगाएका थिए ।
उक्त विषय पेचिलो बन्दै जाँदा सोमबार दिउँसो बडालले एक भिडिओ ब्रिफिङ सामाजिक सञ्जालमा राख्दै उल्टै सर्वोच्चले मेयर बालेनलाई नै पक्राउ गर्ने आधार दिएको उल्लेख गरेका थिए । सोही ब्रिफिङको जवाफमा बालेनले ओलीलाई सुझाव दिएका हुन् ।