

काठमाडौं । आज धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक र कारोबार रकममा भारी गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३६ दशमलव ८३ अङ्कले ओरालो लागेर दुई हजार सात सय ४९ दशमलव ५७ मा ओर्लेको छ ।
यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक आठ दशमलव ३५ अङ्कले ओरालो लागेर चार सय ८९ दशमलव ७९ मा ओर्लेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज १२ उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा एक उपसमूहको मात्रै उकालो लागेको छ ।
कुल दुई करोड ८३ लाख ४६ हजार दुई सय ४६ कित्ता शेयर रु १२ अर्ब २४ करोड ३६ लाख एक हजार तीन सय ६५ मूल्यमा कारोबार भएको छ । नेप्सेका अनुसार कुथरी बखरी स्मल हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ ।