काठमाडौं खबर भदौ १३, २०८१
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री एवं सांसद गगन थापाले रास्वपा सभापति रवि लामिछानेको सहकारी ठगी छानबिनसम्बन्धी मुद्दामा रास्वपाका सांसदलाई जवाफ फर्काएका छन् । संसदमा पटकपटक प्रमाण छ भन्नेले प्रमाण नदेखाएको भन्दै प्रश्न उठाएका थिए । पटकपटक संसद्मा प्रश्न उठाएपछि आज संसदमा विशेष समय लिएर बोल्दै थापाले यस्तो जवाफ दिएका हुन् ।
थापाले सहकारीको रकम अपचलनमा रवि लामिछानेको संलग्नताको प्रमाण संसदीय छानबिन समितिलाई दिइसकेको बताए । प्रमाण खोई भन्ने रास्वपाका सांसदहरूलाई उनको प्रतिपश्न थियो, ‘हामीसँग भएको तथ्य प्रमाण पुगेन होला समितिमा ? हाम्रा साथीहरुले बोकेर जानुभएको छैन होला ?’
थापाले ९ मिनेटको लागि भनेर ९ घण्टासम्म बयान दिनुपरेको स्मरण गर्दै महामन्त्री थापाले भने, ‘यसो ख्याल गर्नुभएन, ९ मिनेटमा चट भनेको ठाउँमा ९ घण्टासम्म बयान दिनुपर्ने अवस्था त्यही तथ्य प्रमाण भएकाले आएको होइन होला ।’
आफूलाई समितिमाथि पूर्ण विश्वास रहेको महामन्त्री थापाले बताए । ‘बरु रास्वपपाका साथीहरु झुक्किनुभयो कि भन्ने लागेको छ’, उनले अगाडि भने, ‘बयान हो, बयान । सफाइ होइन ।’