काठमाडौं । नेकपा एकीकृत समाजवादीले पदाधिकारीसहित पोलिटब्युरो सदस्य छान्न आज निर्वाचन हुने भएको छ । १८ पदाधिकारीसहित ८४ पोलिटब्युरो सदस्यका लागि आज दिउँसो २ बजेदेखि पाँच बजेसम्म निर्वाचन गर्न लागिएको हो । पार्टीको सोमबार सम्पन्न केन्द्रीय कमिटी बैठकले सहमतिको प्रयास सफल नभएपछि निर्वाचनको माध्यमबाट पदाधिकारी तथा पोलिटब्युरो सदस्य छनौट गर्ने निर्णय गरेको हो ।
पार्टीका अनुसार उम्मेदवारी दर्ता, दाबी विरोध, उम्मेदवारी फिर्ता, अन्तिम नामावली प्रकाशनलगायत कार्यक्रम मङ्गलबार बिहानदेखि सुरु भई, दिउँसो २ देखि पाँच बजेसम्म मतदान र साँझसम्म मतगणना गरिने निर्वाचन आयोगका अध्यक्ष माधव पौडेलद्वारा जारी तालिकामा उल्लेख छ ।
केन्द्रीय कमिटी सदस्यले मात्र निर्वाचन प्रक्रियामा सहभागी हुन पाउने छन् । सचिवालय सदस्य, स्थायी समिति सदस्य विभागलगायत संरचना केही दिनपछि निर्माण गर्ने जनाइएको छ । केन्द्रीय कमिटीमा हाल अध्यक्ष, सम्मानित नेता र महासचिव गरी तीन पदाधिकारी छन् ।