काठमाडौं खबर भदौ ११, २०८१
काठमाडौं । करिब छ महिनाअघि महामन्त्री गगन थापाले ल्याएको पार्टी सुधारको प्रस्तावमा केन्द्रीय समितिमा संस्थापन पक्ष सहमत हुन नसक्दा महासमितिबाट पारित प्रस्ताव केन्द्रीय समितिले अझै पारित गर्न सकेको छैन । ०८२ भित्रै महाधिवेशन गर्ने र चुनावी गठबन्धन नगर्ने महामन्त्री गगन थापाका दुई प्रस्तावप्रति कांग्रेसको संस्थापन पक्षले आपत्ति जनाउँदै आएको छ । यो प्रस्ताव फिर्ता लिन तीब्र दबाब आए पनि गगनले सो प्रस्ताव फिर्ता लिएका छैनन् ।
यसैबीच यस विषयमा कुरा गर्न देउवाले कांग्रेसको उपसभापति र महामन्त्रीको बैठक बोलाएका छन् । सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा पाँच पदाधिकारी मात्र बस्ने गरी बैठक बोलाइएको हो ।
महामन्त्री थापाले भने आफूले अघि सारेका विषय पार्टीको तल्लो तहको धारणा भएको भन्दै महासमितिबाट पारित गरिसकेपछि सच्याउन नमिल्ने अडान राख्दै आएका छन् ।
त्यस्तै, अर्का महामन्त्री विश्वप्रकाश शर्मा राष्ट्रपति एकपटक, प्रधानमन्त्री दुईपल्ट, मन्त्री तीनचोटि र सांसद चारपालिभन्दा बढी बन्न नपाउने उनको प्रस्ताव छ । उनको प्रस्तावमा हालसम्म एक केन्द्रीय सदस्य पनि समर्थनमा उभिएका छैनन् । ती प्रस्तावमा सहमतिका निम्ति सभापति देउवाले उपसभापति र महामन्त्रीको बैठक डाकेका हुन् ।