काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सम्मिलित कार्यक्रममा नेताहरूविरुद्ध मूर्दावादको नारा लागेको छ । सोमबार गौरा पर्वको अवसरमा टुँडीखेलमा कार्यक्रमको आयोजना गरिएको थियो । सुदूरपश्चिम प्रदेशमा प्रमुख चाडका रुपमा मनाइने गौरा पर्वमा आयोजित कार्यक्रमको उद्घाटन सो दुवै नेताले दमाहा बनाएर गरेका थिए ।
दुई नेताले कार्यक्रम उद्घाटन गर्दै गर्दा नेताहरूको नाममा मूर्दावादको नारा लगाउन थालेका युवाहरूले पोडियममा देउवा बोल्न पुग्दा झनै चर्को स्वरमा नारा लगाउन थाले । देउवा पनि के कम उनले लाज नभएकाहरूले कार्यक्रम भाँड्नका लागि यस्तो गरेको भन्दै उल्टै सहभागीलाई थर्काउने कोशिस गरे । ‘तपाईंहरूले जति गरे पनि बोल्नेवाला छु म। जति गरेपनि गर्नुस्। जति कराए पनि कराउनुस्। जति कराउनुपर्ने छ कराउनुस्,’ देउवाले भने।
देउवापछि सम्बोधन गर्न पुगेका ओलीको समयमा भने सुरक्षा व्यवस्था कडा पारिएकोले त्यस्तो नारा लगाइएन । सम्बोधनको क्रममा सोही घटनालाई लक्षित गर्दै ओलीले नयाँ पुस्ताले आफ्नो परम्परा र संस्कृतिअनुसार सभ्यता बिर्सिएको बताउँदै यस्तो विरोध गर्ने कार्य नेपालीपना नभएको बताए । उनले भने ‘नेपाली समाज जति बिथोल्न खोजेपनि, जति भाँड्न खोजेपनि बिथोलिन र भाँडिन मान्दैन ।’