काठमाडौं खबर भदौ १०, २०८१
काठमाडौं । लेबनानको गैरसरकारी आर्मी फोर्स हिजबुल्लाहको आक्रमणपछि इजरायलमा ४८ घन्टे सङ्कटकाल घोषणा गरिएको छ । आइतबार बिहान इजरायली डिफेन्स फोर्स (आईडीएफ) का प्रवक्ता रियर एडमिरल डेनियल हागारीले हिजबुल्लाहको आक्रमणको बदलामा इजरायलले दक्षिणी लेबनानमा रहेका लेबनानी नागरिकलाई आक्रमण हुनसक्ने भन्दै सावधानी अपनाउन आफ्ना नागरिकलाई सचेत गराएका छन् ।
शनिबार राति हिजबुल्लाहले इजरायलको तेल हबिबमा करिब ३०० मिसाइल तथा ड्रोन आक्रमण गरेको थियो । इजरायलले सो मिसाइलले ठूलो क्षति नभएको जनाएको छ । तर फेरि आक्रमण हुन सक्ने भन्दै त्यसको प्रतिरक्षाका लागि भन्दै संकटकाल घोषणा गरिएको हो । इजरायलका रक्षामन्त्री योव ग्यालान्टले सङ्कटकाल घोषणा गरेका छन् र यसले इजरायली रक्षा बल (आईडीएफ) को आन्तरिक मोर्चाको नेतृत्वलाई प्रतिबन्धहरू जारी गर्न सहज हुनेछ ।
मन्त्रीपरिषद्ले विस्तार नगरेसम्म यो अवस्था ४८ घण्टाका लागि मान्य हुनेछ । इजरायलमा तनाव बढ्दै गएको छ । यस क्षेत्रमा थप जोखिम बढेसँगै इजरायली नागरिकलाई उच्च सतर्कताका रहन भनिएको छ ।
एक पत्रकार सम्मेलनमा आइडिएफका प्रवक्ताले भने, ‘हिजबुल्लाहले दक्षिणी लेबनानबाट नजिक इजरायली क्षेत्रमा आक्रमण गरिरहेको छ । यसको बदलामा इजरायलले हिजबुल्लाहमाथि आक्रमण गर्ने तयारी गरिरहेको छ । तसर्थ हामी उक्त क्षेत्रमा रहेका लेबनानी नागरिकलाई तुरुन्तै स्थान खाली गर्न आग्रह गरेका छौँ ।’