काठमाडौं । हिजो करिब सात घण्टा अवरुद्ध रहेको काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगामा खसेको पहिरो अझै पनि पूर्णत: हटेको छैन । प्रहरी वृत्त थानकोटका अनुसार बिहीबार बिहानसम्म पनि सो बाटो एकतर्फीमात्रै सञ्चालनमा रहेको छ । अझै पनि लेदोसहितको पहिरो झरिरहेकोले अत्यावश्यकबाहेक यात्रा नगर्न प्रहरीले आग्रह गरेको छ ।
बुधबार बिहान १०:३० बजेदेखि पहिरो खसेर रोकिएको सडक खुलाउन दिनभर समय लागेको हो । जसका कारण काठमाडौँ नौविसे खण्ड प्रभावित भएको थियो ।
प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले पानी थप परेको खण्डमा पुनः पहिरो खसेर अवरोध हुनसक्ने सम्भावना रहेको बताए । तीन वटा एक्स्काभेटरको सहयोगमा पहिरो पन्छाउने कार्य भइरहेको छ । ‘कतिबेला बन्द हुने हो भन्ने थाहा छैन, त्यसैले अहिले काठमाडौँ उपत्यकामा ‘माइकिङ’ गरेरै जानकारी दिएकाले आज सो क्षेत्रमा सकेसम्म यात्रा नगर्न भनिएको छ,’ उनले भने ।