काठमाडौं । नेपाली काँग्रेसका नेता एवं समाजवादी चिन्तक स्व. प्रदीप गिरिकी श्रीमती भारती सिलवालले काँग्रेस सभापति शेरबहादुर देउवालाई आफूले करिब तीन दशकअघि लगेको किताब फर्काइदिन आग्रह गरेकी छन् । मंगलबार काठमाडौंमा स्व. गिरिको स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा भारतीले आफ्नो अनुमतिविना लगेको लास्ट फ्रिडम नामक किताब अहिलेसम्म फिर्ता नगरेको बताइन् ।
उनको यो स्मरण शेरबहादुर देउवा गृहमन्त्री बन्नुभन्दा पहिले अर्थात् करिब तीन दशकअघिको हो । प्रदीप गिरिको दम्पती त्यतिबेला थापाथलीमा बस्ने गरेका थिए । सो समयमा लगेको जयकृष्णमूर्तिको किताब अहिलेसम्म पनि फिर्ता नगरेको आरोप भारतीको छ । ‘मैले त्यतिबेलै उहाँलाई किताब लैजान दिएकी थिइनँ । पीजे (प्रदीप गिरि)ले छाड्देउ लान देउ भन्नुभयो । मैले उहाँले फर्काउनहुन्न क्या भनेँ । फर्काउछन्, लैजानदेउ भन्नुभयो ।”
स्मृति दिवसमा उनले यस्तो कुरा सम्झिँदा सहभागीहरूको हाँसोले हल गुञ्जियो । उनले त्यतिमात्रै भनिनन् । सो पुस्तक फिर्ता गरिदिन देउवासँग आग्रह पनि गरिन् । कार्यक्रममै उनले भनेकी थिइन् “शेरबहादुरजीले लैजानुभएको कृष्णमूर्तिको किताब… । उहाँले मेरो किताब फर्काउनुभएको छैन । म त्यो किताबको प्रतीक्षामा छु,” उनले भनिन् ।