काठमाडौं खबर भदौ १, २०८१
काठमाडौं । शुक्रबार पशुपतिमा एक महिनादेखि जारी कोटीहोमस्थलमा शुक्रबार तनाव सिर्जना भएको छ । आफूलाई धर्मगुरु बताउने विवादित छविका विजय कृष्णमूर्तिले कथा भन्दैगर्दा प्रहरीहरू सो स्थलमा पुगेपछि विवाद सिर्जना भएको थियो । सादा पोशाकमा गएका प्रहरीहरू कथा सकिएपछि उनलाई पक्राउ गर्न भनेर नै गएको थियो ।
विजयकृष्णमूर्ति एक विवादित पृष्ठभूमिका व्यक्ति हुन् । सोझा नागरिकलाई विभिन्न कार्यक्रममा अमेरिका पठाइदिने भन्दै दर्जनौँ व्यक्तिलाई ठगी गरेको र धार्मिक कार्यक्रमको नाममा समेत ठगी गरेको अभियोगमा विभिन्न अदालतको आदेशमा कैद सजाय समेत भोगेर आएका उनलाई अर्को मुद्दामा सादा पोशाकमा आएका प्रहरीहरूले निगरानी गरेका थिए । २०७१ असोजमा पक्राउ परेका उनलाई २०७३ मंसिर ६ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश हरिप्रताप केसीको इजलाशले दुई वर्ष छ महिना कैद र ८१ लाख ८५ हजार रुपैयाँ जरिवाना ठहर गरेको थियो ।
आफ्नो विवादित छविलाई छोप्न धर्मको आडमा लिएका उनले प्रहरी कोटीहोम स्थलमा पुगेपछि उनले विदेशीको इसारा नेपाल प्रहरीले आफूलाई पक्राउ गर्न खोजेको आरोप लगाउँदै बंगलादेशको आन्दोलन सल्किएको भड्काउ अभिव्यक्ति दिएका थिए । त्यसपछि कथावाचक विजय कृष्णमूर्ति जी महाराजका समर्थकहरुले प्रतिवाद गरेका थिए । प्रतिवादका लागि उनले नै आह्वान गरेका थिए । कोटीहोमको समापनपछि राति प्रहरी त्यहाँ पुगेको थियो । प्रहरी पुगेपछि समर्थकहरुले विजय कृष्णमूर्तिलाई घेरा हालेर राखेका थिए । उनीहरुले सरकार र प्रहरीविरुद्ध नाराबाजीसमेत गरे ।