काठमाडौं खबर साउन ३२, २०८१
काठमाडौं । बिहीबार काठमाडौंको गठ्ठाघरमा स्कुटर दुर्घटनामा मृत्यु भएका व्यक्ति कपन निवासी ६५ वर्षीय पुरुष रहेको खुलेको छ । मृतक ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–४ घर भई हाल काठमाडौँको कपन बस्ने ६५ वर्षका उत्तम कोइराला रहेको पुष्टि भएको जिल्ला प्रहरी परिसरले गरेको छ । पहिले मृतक व्यक्ति महिला भएको भन्दै सार्वजनिक गरेको प्रहरीले साँझ फेरि सीसीटीभी फुटेज हेरेर पुरुष रहेको बताएको थियो । शुक्रबार बिहान प्रहरीले ती व्यक्तिको सनाखत गर्दै उनको ठेगाना समेत सार्वजनिक गरेको हो ।
बिहीबार दिउँसो १:५९ बजेको समयमा भएको सो दुर्घटनामा कसको गल्ती भएको भन्ने धेरैलाई जिज्ञासा हुँदै आएको छ । प्रत्यक्षदर्शी र चालकको बयानका आधारमा सो दुर्घटनामा कुनै न कुनै हिसाबले ट्राफिक प्रहरीको गल्ती रहेको भेटिएको छ । स्थानीयका अनुसार सो घटनामा परेका स्कुटर चालक बायाँतर्फको साइडको छेउबाट आफ्नै गतिमा गुडिरहेका थिए । दुर्घटनास्थलनिर प्रहरीले अस्थायी डिभाइडर राखेर सवारी आवागमनलाई एक लेनमा अवरोध गरेको थियो । स्कुटरलाई ठक्कर दिने ट्रक बीचको लेनबाट आफ्नै गतिमा गइरहेको थियो । त्यहीँ डिभाइडर छक्काएर बायाँ साइड आउन खोज्दा ट्रकले स्कुटरलाई ठक्कर दिन पुगेको प्रहरीको भनाइ छ । सोहीकारण ट्राफिकका कारण दुर्घटना भएको भन्दै स्थानीय अन्दोलित हुन पुगेका थिए ।
अग्लो ट्रकका चालकले पनि सानो स्कुटरले अकस्मात लेन चेन्ज गर्दा नदेखेपछि ठक्कर दिएको चालकले बयान दिएका छन् । उनले आफूले नदेखेर अन्जानमा ठक्कर दिन पुगेको बताएका हुन् । दुर्घटनालगत्तै ट्राफिक प्रहरीका कारण स्कुटर चालकको ज्यान गएको भन्दै स्थानीय आन्दोलित हुन पुगे । स्कुटर चालकको एउटा खुट्टाबाहेक सबै भाग ट्रकको चक्काले पेलिसकेको थियो । सेतो पाइन्ट लगाएको एउटा कम्मरमुनिको भाग मात्रै देखिएको थियो । स्थानीयको प्रर्दशनपछि ट्रकमा आगजनी हुनसक्ने भन्दै ट्रकको सुरक्षा र प्रर्दशनमा उत्रिएका स्थानीयलाई रोक्नतर्फ प्रहरी लाग्यो । तर पनि अवस्था तनावपूर्ण बन्दै थियो ।