काठमाडौं खबर साउन ३०, २०८१
काठमाडौं । प्रतिनिधि सभाले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गरेको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले प्रस्तुत गरेको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’लाई सभाले बहुमतले पारित गरेको हो ।
२५ फागुन २०७९ मा दर्ता भएको विधेयक १७ महिनापछि पारित भएको हो । अब यो कानुन राष्ट्रिय सभाले पारित गरेपछि राष्ट्रपतिकहाँ पारितका लागि पठाइनेछ ।
विधेयकको विपक्षमा एक जना नेमकिपाका प्रेम सुवाल मात्र देखिएका थिए। सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत गरेको विधेयकको पक्षमा बहुमत पुगेको भन्दै पारित भएको घोषणा गरेका हुन्।