काठमाडौं । मंगलबार सेयर कारोबार र नेप्से परिसूचक दुवैमा गिरावट आएको छ । यो साताको प्रारम्भमा सर्वाधिक कारोबार रकमसहित उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज भने सामान्य अङ्कले घटेको छ । नेप्से परिसूचकसँगै कारोबार रकममा भने भारी गिरावट आएको छ ।
मंगलबार नेप्से परिसूचक आठ दशमलव १८ अङ्कले घटेर दुई हजार नौ सय २३ दशमलव ४६ विन्दुमा कायम भएको हो । तीन सय ३२ कम्पनीको रु पाँच करोड २७ लाख ६४ हजार आठ सय ३२ कित्ता सेयर दुई लाख ४१ हजार छ सय ६५ पटक खरिदबिक्री हुँदा रु २१ अर्ब ५१ करोड ५० लाख १० हजार छ सय ३३ बराबरको कारोबार भएको छ ।
नेप्सेका अनुसार बैंकिङ शून्य दशमलव ४५, वित्त एक दशमलव ५७, लगानी शून्य दशमलव ०८, व्यापार शून्य दशमलव ०६ र जीवन बीमा शून्य दशमलव ५४ प्रतिशतले बढेको छभने अरु सबै समूहको उपसूचक घटेको छ । विकास बैंक एक दशमलव ३६, होटल तथा पर्यटन दुई दशमलव २५, जलविद्युत् शून्य दशमलव ३५ र उत्पादन तथा प्रशोधन समूह एक दशमलव ४० प्रतिशतले घटेको छ ।