काठमाडौं । आज पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका पूर्वसभापति सुशील कोइरालाको ८५ औं जन्मजयन्ती । नेपालको संविधान २०७२ निर्माणको बेलामा ठूलो भूमिका खेलेका कोइरालालाई राज्यले जति दिनुपर्ने उति सम्मान दिन सकेन । उनको जन्मदिनमा नेपाली काँग्रेससहित केही निकायले फाट्टफुट्ट कार्यक्रम गर्नेबाहेक खासै ठूलो कार्यक्रम भएन ।
संविधानको सफल कार्यान्वयन भएर लोकतान्त्रिक पद्धतिलाई सवल र सुदृढ बनाउन सके नेता कोइरालाप्रति सच्चा श्रद्धाञ्जलि हुने सुशील कोइराला मेमोरियल फाउण्डेशनका अध्यक्ष एवं कांग्रेसका पूर्वमहामन्त्री डा शशाङ्क कोइरालाले बताए । विसं १९९७ साउन २८ गते जन्मिएका सभापति कोइरालाका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाबाट प्रभावित भएर राजनीतिमा लागेका थिए । संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दललाई मिलाएर कोइरालाको नेतृत्वमा २०७२ असोज ३ गते संविधान जारी भएको थियो ।
फलःस्वरुप नेपाली जनताको २००७ सालदेखिको चाहनाबमोजिम संविधानसभाबाट संविधान बनाउने अभिभारा स्वर्गीय नेता कोइरालाको कार्यकालमा पूरा भयो । उनले सधैँ सत्यको वकालतका साथै सादगी जीवनयापन गरे । जनचाहनाबमोजिम संविधानसभाबाट संविधान जारी गराउन नेतृत्वदायी भूमिका निर्वाह गरेका पूर्वप्रधानमन्त्री कोइराला जीवनको अन्तिम क्षणसम्म पनि संविधानको प्रभावकारी कार्यान्वयनका लागि क्रियाशील रहे ।
मुलुकमा राजनीतिक परिवर्तनका लागि विभिन्न समय र कालखण्डमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका कोइरालाले जीवनपर्यन्त प्रजातान्त्रिक सिद्धान्त अनुकूलको आचरण गर्नुभएका कारण नेपाली राजनीतिमा सादगी नेताका रूपमा परिचय स्थापित छ । राजनीतिमा निष्ठा, इमान्दारिता र सादगीको शक्ति कति हुन्छ भन्ने कुरालाई स्थापित गर्न उनको योगदान महत्त्वपूर्ण छ ।