काठमाडौं । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा सुधारका लागि प्राथमिकता र कार्ययोजना सार्वजनिक गरेका छन् । आइतबार मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा सुधारको योजना सार्वजनिक गरेका हुन् । मन्त्री पौडेलले स्वास्थ्य बीमा योजनालाई अझ परिष्कृत गर्दै यसलाई व्यवस्थित बनाउने योजना सुनाएका छन् । पूर्वस्वास्थ्यमन्त्री गगन थापाले सुरु गरेको स्वास्थ्य बिमा योजनालाई प्रभावकारी र अझ व्यवस्थित बनाउने कुरा सो कार्ययोजनामा उल्लेख छ ।
उनले बीमाको दायरा बढाएर ५ लाख रुपैयाँ पुर्याउने प्रस्ताव गरेका छन् । स्वास्थ्य बीमामा सबै नागरिक नसमेटिएका, उपचार लिन जाँदा सास्ती ब्यहोर्नुपरेको उल्लेख गर्दै मन्त्री पौडेलले स्वास्थ्य बीमालाई परिमार्जन गर्ने बताएका हुन् । हाल स्वास्थ्य बीमामार्फत बीमितले १ लाख रुपैयाँसम्मको उपचार सुविधा पाउँदै आएका छन् ।
पौडेलले जारी गरेको सुधारको योजनामा धेरै विषयहरू पूर्वस्वास्थ्यमन्त्री थापाले सुरुवात र पहल गरेका विषयहरू समेटिएका छन् । पौडेलले यथाशीघ्र केन्द्र स्थापनाका लागि पहल गरिने बताए । मन्त्री पौडेलले वाग्मतीबाहेकका अन्य ६ प्रदेशमा शहीद गङ्गालाल हृदय केन्द्रको समन्वयमा मुटु रोग उपचारको सेवा विस्तार, सातै प्रदेशमा क्यान्सर रोग उपचार सेवा विस्तार गरिने बताए । उनले वैदेशिक रोजगारीमा जाने र गएका नेपाली नागरिकको मृत्युदर घटाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँगको सहकार्यमा वैदेशिक रोजगारीमा जाने नागरिकको स्वास्थ्य परीक्षणलाई प्रभावकारी बनाइने योजना रहेको बताए ।
मन्त्री पौडेलले बीमा सेवा सुधार गर्नका लागि आवश्यक रणनीतिले ल्याइने बताए । उनले भने “स्वास्थ्य बीमाको हालको दायरा कम्तीमा पाँच लाख बनाउने गरी फराकिलो बनाउने, सेवालाई गुणस्तरीय र सेवा प्रवाह प्रक्रिया सहज बनाउन, आबद्धतालाई द्रुत गतिमा बढाउन र स्वास्थ्य बीमाको नीतिगत र कानूनी व्यवस्थामा आवश्यक पुनरावलोकन गरिने बताए ।”
उनले नसर्ने रोगको भार बढेको उल्लेख गर्दै मन्त्रालयमा नसर्ने रोग र मानसिक स्वास्थ्य हेर्ने छुट्टै इकाइ स्थापना गरिने बताए । उनले आयुर्वेद र वैकल्पिक चिकित्सा, उपचारात्मक सेवा विस्तार र विकास, औषधि, गुणस्तर र नियमन, पोषण, स्वास्थ्य जनशक्तिको व्यवस्थापनका लागि एकीकृत स्वास्थ्य सेवा ऐनको तर्जुमा गरिनेलगायतका विषयमा आफ्ना कार्ययोजनाहरु प्रस्तुत गरे ।