काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले समयमै महाधिवेशन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आइतबार कांग्रेस केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा नेता डा. शेखर कोइरालाले महाधिवेशन समयमै नहुने आशंका व्यक्त गरेपछि त्यसको जवाफमा देउवाले १५ औं महाधिवेशन नियमित समयमै हुने प्रतिबद्धता व्यक्त गरेका हुन् । बैठकमा कोइरालाले बोल्दाबोल्दै देउवाले रोकेर भने, ‘महाधिवेशन नियमित समयमै हुन्छ । सार्ने कुरै छैन । सबै एक भएर त्यसमा लागौं ।’
नियमित समयअनुसार महाधिवेशन हुँदा २०८२ को मंसिरमा १५ औं महाधिवेशन हुनुपर्दछ । नेता डा.कोइरालाले संघ र प्रदेशमा मन्त्री छनोटप्रति असन्तुष्टि जनाएका छन् । दुई ठूला दल (नेपाली कांग्रेस र नेकपा एमाले) सुशासनका लागि एक ठाउँमा आएको भनिए पनि व्यवहारमा त्यस्तो नदेखिएको उनले बताए।
१५ औं अधिवेशनमा देउवा सभापतिमा उम्मेदवारी नदिने पक्षमा छन् । उनले आफ्नो उत्तराधिकारी कसलाई तोक्ने भन्ने बारेमा अहिले संस्थापन पक्षमा हानाथाप चलिरहेको छ।