काठमाडौं खबर साउन २४, २०८१
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्रको तीव्र दबाबलाई कम गर्न २०८४ सम्म प्रधानमन्त्रीको चक्करमा नलाग्ने घोषणा गरेका छन् । सत्ताको चक्करमा लाग्दा पार्टी कमजोर भएको र जहिलै पनि अरूको सहारा लिएर हिँड्नुपरेको भन्ने पार्टीभित्रको प्रश्नका बीच बुधबार एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
हुम्ला–काठमाडौं सम्पर्क समन्वय समितिले बिहीबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले २०८४ सम्म आफू प्रधानमन्त्री बन्ने प्रयास नगर्ने बताए । तर, २०८४ पछि एक नम्बर पार्टी भयो भने प्रधानमन्त्रीका लागि त्यतिबेला सोचिने उनले बताए । ‘भोलि एक नम्बर पार्टी भयो भने के गर्ने त्यही बेला सोचौंला’, प्रचण्डले भने ।