काठमाडौं खबर साउन १७, २०८१
काठमाडौं । नेकपा एमालेले बागमती प्रदेशको इन्चार्जको जिम्मा काठमाडौं क्षेत्र नं ४ का सांसदका उम्मेदवार डा राजन भट्टराईलाई दिएको छ । नेकपा एमालेको बिहीबार होटल बसेरामा बसेको सचिवालय बैठकले नेताहरुको नयाँ जिम्मेवारीसँगै केही मनोनयन समेत गरेको छ ।
जसमा सातै प्रदेशको इन्चार्ज तोकिएको छ । यसअघि बागमती प्रदेश इन्चार्ज रहेका गुरुप्रसाद बराललाई एमालेले केन्द्रीय उपाध्यक्षमा बढुवा गरेको छ । गत वर्ष सुवास नेम्वाङको निधन भएपछि एउटा उपाध्यक्ष पद रिक्त थियो । त्यही उपाध्यक्ष पदमा बराललाई मनोनयन गरिएको हो ।
यसअघि बरालले स्थायी कमिटी सदस्यको हैसियतमै बागमती इन्चार्जको जिम्मेवारी पाएका थिए । बागमती प्रदेशको इन्चार्जमा कृष्णगोपाल श्रेष्ठको चाहना थियो, प्रस्ताव र छलफल पनि भए पनि पछि निर्णय आउने बेलामा राजन भट्टराईको नाम आएको हो ।