काठमाडौं । निर्वाचन आयोगको आयुक्तमा नाम सिफारिस भएका कृष्णमान प्रधानले आफ्नो नाम फिर्ता लिएका छन् । संसदीय सुनुवाई समितिमा रहेका काँग्रेस र एमालेका सांसदहरूले उनको नाममा समर्थन जनाउन नसक्ने स्पष्ट पारेपछि उनले नाम फिर्ता लिएका हुन् ।
उनले नाम फिर्ता लिने संकेत पाएपछि बिहान साढे ११ बजेको लागि बोलाएको बैठक अपराह्न ५ बजेका लागि बोलाइएको थियो । सो समयभन्दा अघि नै प्रधानले आफ्नो नाम फिर्ता लिन निवेदन दिएका हुन् ।
उनीमाथि नेपाल कानून समाजको कार्यकारी निर्देशक हुँदा आफ्नै कार्यालयमा कार्यरत महिलालाई प्रलोभन दिएर पटक पटक यौनशोषण गरेको आरोप लागेको छ। त्यसलाई लिएर पीडित महिलाले संसदीय सुनुवाइ समितिमा उजुरी पनि दिएकी थिइन्। उनले घटनाका विषयमा संसदीय सुनुवाइ समितिलाई पनि जानकारी गराएकी छन्।
सो उजुरी पछि असार २० र २१ गते बसेको समितिको बैठकले नै उनलाई अनुमोदन गर्ने तयारी गरेको भए पनि उजुरीपछि उनको नियुक्ति लम्बिएको थियो ।