काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भुटानी शरणार्थी र गिरीबन्धु टि स्टेटका फाइलको अनुसन्धान अघि बढाउन माग गरेका छन् । शनिबार जोरपाटीमा आयोजित एक कार्यक्रममा महामन्त्री शर्माले यी दुई काण्ड मुलुकका दुई ठूला काण्डहरू भएको भन्दै अनियमितामा संलग्न जोसुकैलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिए ।
मानवअधिकार तथा शान्ति समाज जिल्ला शाखा काठमाडौंको साधारणसभा कार्यक्रममा उनले इमान्दारीपूर्वक उक्त सम्झौता कार्यान्वयन गरेर जनतामा सुशासनको अनुभूति गराउनुपर्नेमा जोड दिए । संविधानमा नागरिकको ३१ वटा मौलिक हक उल्लेख गरेपनि व्यवहारमा कार्यान्वयन हुन नसकेको बताउँदै उनले त्यसको कार्यान्वयनका लागि काम गर्न सबैको साथ र सहयोगको आवश्यकता रहेको बताए ।
कार्यक्रममा सांसदहरू सन्तोष चालिसे, विष्णुदेवी पुडासैनी, संविधानसभा सदस्य रामेश्वर फुयाँल, कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्की, गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसाल, शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, वर्तमान सभापति रामकृष्ण बराल, महासचिव रेणुका पौडेल, काठमाडौँका सभापति भगवान् पुडासैनी, कवि अर्जुन पराजुली लगायतको उपस्थिति थियो ।