काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बारम्बार दिएको निर्देशनपछि नेपाल विद्युत् प्राधिकरणले लाइन काटिएको छ उद्योगको लाइन जोड्ने निर्णय गरेको छ । डेडिकेटेड तथा ट्रंकलाइन महसुल नतिरेका उद्योगमा काटिएको लाइन जोड्न प्रधानमन्त्री केपी शर्मा ओलीले पटकपटक निर्देशन दिएका थिए । मंगलबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले छवटै उद्योगमा लाइन जोड्ने निर्णय गरिएको हो ।
तीन महिनाभित्र डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता महसुल उठाउने निर्णय समेत गरिएको उनले बताए । काटिएका उद्योगमा आजै (मंगलबार) लाइन जोड्ने निर्णय गरिएको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जानकारी दिए । गएको असार २५ गतेदेखि महसुल नतिरेको भन्दै प्राधिकरणले ६ उद्योगमा लाइन काटेको थियो ।
प्राधिकरणले ‘तीन महिनाभित्र उद्योगीहरूको बक्यौता विद्युत् महसुल भुक्तानी नगरेमा पुनः बक्यौता असुलउपर गर्न कारबाही अगाडि बढाउने गरी विद्युत् नियमन आयोगको निर्देशनानुसार उद्योगहरूको विद्युत् लाइन जोड्ने र लाइन काटिएका ६ (छ) वटा उद्योगहरूको विद्युत् मंगलबार साँझबाट क्रमिक रूपमा जडान गर्ने निर्णय’ गरेको हो ।