![](https://kathmandukhabar.com/wp-content/themes/kathmandu-khabar/assets/favicon.png)
![](https://kathmandukhabar.com/wp-content/themes/kathmandu-khabar/assets/clock-icon.png)
काठमाडौं । रवि लामिछानेले गृह मन्त्रालय छाडे लगत्तै प्रहरीले उनीविरुद्धको अनुसन्धान अघि बढाएको छ । आफ्नो सहकारी मुद्दा प्रभावित पार्न जसरी पनि गृह खोजेर गएका लामिछानेले आफूविरुद्धको अनुसन्धानलाई बन्द गराएका थिए । उनले आफू सुशासनको लागि आएको भन्ने भाषण दिए पनि उनीविरुद्ध प्रहरीले अनुसन्धान अघि बढाउन नसकेपछि सो बारेमा अनुसन्धान गर्न संसदीय छानबिन समिति गठन गरिएको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया ग्रुपमा सहकारीको रकम प्रयोग भएको खुलेको थियो । उक्त प्रमाणका आधारमा उनीमाथि अनुसन्धान अघि बढाउने तयारी प्रहरीले थालेको हो । गोर्खा मिडिया ग्रुपका अध्यक्ष गितेन्द्रबाबु राई (जिबी) हाल फरार छन् । जीबी राई अध्यक्ष रहेको गोर्खा मिडिया ग्रुपले ग्यालेक्सी टेलिभिजन सञ्चालनमा ल्याएको थियो । टेलिभिजनका प्रबन्ध निर्देशकमा रवि लामिछाने थिए ।
अहिले उनीविरुद्ध संसदीय छानबिन समितिले पनि काम गरिरहेको छ । छानबिन समितिले सहकारी र गोर्खा मिडिया ग्रुप तथा ग्यालेक्सी टेलिभिजनको सञ्चालक समितिको काजगात झिकाएको छ । आइतबार एक टेलिभिजन अन्तर्वार्तामा संयोजक थापाले सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा जोडिएका कोही पनि नजोगिने बताएका थिए ।
सुप्रिम सहकारीबाट लामिछानेको नाममा एक करोड रकम जम्मा भएको प्रहरीको अनुसन्धानबाट देखिएको थियो ।