काठमाडौं । अल्पमतमा परेका बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले राजीनामा दिएका छन् । आज विश्वासको मत लिनका लागि समय मागेका उनले विश्वासको मत नपाउने भएपछि राजीनामा दिएका हुन् । आइतबार बसेकाे प्रदेश सभा बैठकलाई सम्बोधन गरेर उनले राजीनामा दिएका हुन् । यसअघि जम्कट्टेलले विश्वासकाे मत लिन प्रयाेजनका लागि प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए । माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलकाे बैठकले उनलाई राजीनामा सुझाव दिएकाे थियाे ।
नयाँ सत्ता गठबन्धन अनुसार बाग्मती प्रदेश नेपाली काँग्रेसको भागमा परेको छ । जम्कट्टेलले विश्वासको मत नपाउने भएपछि आइतबार नै बसेको नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीका लागि बहादुरसिंह लामालाई अघि सार्ने सर्वसम्मत निर्णय गरेको छ ।
आइतबार बिहान हेटौंडामा बसेको संसदीय दलको बैठकले लामालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो । ‘बिहान बसेको संसदीय दलको बैठकले बहादुरसिंह लामालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने सर्वसहमतिमा निर्णय गरेको हो,’ प्रदेश सांसद रमेश महतले भने ।
‘विश्वासको मत मुख्यमन्त्रीले नपाएपछि दुई दलको बैठक बस्छौं,’ महतले भने, ‘प्रदेश प्रमुखले सरकार निर्माणका लागि आज आह्वान गर्नुभयो भने आज नै मुख्यमन्त्री दाबी गर्ने तयारीमा छौं ।’