![](https://kathmandukhabar.com/wp-content/themes/kathmandu-khabar/assets/favicon.png)
![](https://kathmandukhabar.com/wp-content/themes/kathmandu-khabar/assets/clock-icon.png)
काठमाडौं । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४२औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो । कोइरालाको जन्म १९७१ भदौ २४ गते भएको हो । विसं २०१५ को संसदीय निर्वाचनपछि २०१६ जेठमा उनी पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए ।
साहित्य र राजनीतिका एक सफल पुरुष विश्वेश्वर प्रसाद कोइराला आफ्ना युगमा एकै पटक सामाजिक र राजनीतिक दुवै अभियन्ता (इन्जिनियर) थिए । उनले नेपालको प्रजातान्त्रिक आन्दोलनमा मात्रै नेतृत्व गरेनन् । छिमेकी मुलुक भारतलाई स्वतन्त्र गराउन पनि ठूलो योगदान दिएका छन् । आफ्नो राजनीतिक र सामाजिक सोचमार्फत नेपाली समाज र राजनीतिको विकासका लागि यथेष्ट योगदान पुर्याएका कोइरालाको निधन भएको आज ४२ वर्ष पूरा भएको छ ।
राजनीतिमा बीपी र साहित्यमा विश्वेश्वरप्रसादका रूपमा समानान्तरीय हैसियत र परिचय बनाउन सफल कोइरालाका योगदान नेपाल र नेपालीका लागि कालजयी छन । अविस्मरणीय छन् । अतुलनीय छन । राजनीतिमा प्रजातान्त्रिक समाजवाद र साहित्यमा जनमनोविज्ञानका महाप्रणेता कोइराला दुई क्षेत्रका दुई स्वतन्त्र व्यक्तित्वका रूपमा स्थापित छन् ।
नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका कोइराला विसं २०१५ को संसदीय निर्वाचनपछि २०१६ जेठमा उनी पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए । अहिलेसम्म पनि समावेशिताको प्रश्न उठिरहने नेपालमा झण्डै ६५ वर्षअघि नै उनले प्रश्न उठ्न नसक्नेगरी संक्षिप्त मन्त्रिपरिषद्को गठन गरेका थिए । बीपीको संक्षिप्त मन्त्रिमण्डलमा हिमाल, पहाड, तराई, काठमाडौ उपत्यका, महिला, युवा, जनजाती सबैको सन्तुलित प्रतिनिधित्व थियो । बीपीको यो समावेशी राजनीतिबारेको दृष्टिकोणको प्रकटीकरण विश्वेश्वरको साहित्यमार्फत समेत भएको थियो । मधेशतिर, मोदी आइन, शत्रु, सुम्निमा, नरेन्द्र दाइजस्ता रचनाको अध्ययन गरे बीपीको समावेशी राजनीतिक दृष्टिकोणबारे बुझ्न सहयोग पुग्छ ।
आफ्नो छोटो कार्यकालमा बीपीले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरेका थिए । प्रधानमन्त्रीत्वकालमा उनले बिर्ता उन्मूलन र ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्ने भूमिसुधार कार्यक्रम अगाडि बढाएका थिए । बीपीले प्रधानमन्त्रीका रूपमा १८ महिना मात्र रहे पनि विदेश सम्बन्ध र खास गरी छिमेकी चीन र भारतसँगको सम्बन्ध कस्तो रहने भन्नेबारेमा महत्त्वपूर्ण पाठ दिन सफल भएका थिए। भौगालिक हिसाबले ठूला, विश्वमा उपस्थिति र प्रभावका हिसाबले शक्तिशाली र स्रोतसाधनले सामर्थ्यवान मुलुकले पनि अरूको मामलामा अनावश्यक बोल्दै हिँड्न मिल्दैन, ठूला हुँ भन्दैमा भएको गल्तीमा मौन रहन र माफी गर्न पनि सकिँदैन, अन्याय गरेबापत पीडित पक्षलाई क्षतिपूर्ति दिनुपर्छ भन्ने पाठ बीपीका पालाको नेपाली विदेशनीतिले सिकाएको हो।
थाहा भएकै प्रसंग हो कि नेपाल र चीनबीच सन् १९६० मा सीमा सम्झौता भयो, सीमा सन्धिचाहिँ त्यसको एक वर्षपश्चात् अर्थात् सन् १९६१ मा भयो। जब दुई देशको सिमाना छुट्याएर सन्धिमा जाने तयारी थियो, चीनले सगरमाथा आफ्नो भएको दाबी गर्यो। यसबीचमा सन् १९५० मा राणाहरूसँग भएको नेपाल–भारत शान्ति तथा मैत्री सन्धिको बुँदामा रहेको प्रावधानलाई आधार बनाउँदै भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूले नेपालमाथिको हस्तक्षेप भारतमाथिको पनि हस्तक्षेप हो भन्ने अभिव्यक्ति दिए। नेहरूको भनाइले माहोल अझ बिग्रन सक्ने लागेर बीपीले चीन र नेपालको मामलामा अर्को देश अर्थात् भारतको समर्थन आवश्यक नभएको भन्ने सन्देश नेहरूलाई दिए। अर्कातिर प्रधानमन्त्रीको हैसियतमा बीपीले चिनियाँ प्रधानमन्त्री चाउ एनलाईसँग सानो या कमजोर राष्ट्रको प्रतिनिधि भएको भान कतै नदिई सप्रमाण तर्क र तथ्यपरक सघन वार्ता गरे। नेपालले पेस गरेका आधार र दस्तावेजका आधारमा सगरमाथामाथि चिनियाँ दाबी छाड्यौं भनेर पत्रकार सम्मेलनमै भन्न चाउ एनलाई बाध्य भए। चीनको अन्य कैयन् ज्यादतीको पनि बीपीले कूटनीतिक प्रतिकारमार्फत् आफ्नो पक्षमा ल्याउन सफल भएका थिए । यसबाहेक उनले इजरायल लगायत कैयौं देशमा समेत कूटनीतिक सम्बन्ध राखेर नेपालको प्रतिनिधित्व गराएका थिए ।
विकास निर्माण होस् र सामाजिक समावेशिता र सामाजिक सुधारको बाटोमा बीपीले गरेका कार्यहरूलाई सम्झिने हो भने महाकाव्य तयार हुन्छन् । उनको योगदान र समर्पणलाई आम नेपालीले सम्झनै पर्छ। उनी काँग्रेसका ट्रेडमार्क होइनन्, समग्र नेपालीका मार्गदर्शक हुन् । उनको स्मृति दिवसमा उनीप्रति हार्दिक श्रद्धाञ्जली ।