काठमाडौं खबर साउन ६, २०८१
काठमाडौं । राष्ट्रिस स्वतन्त्र पार्टीले उपसभामुख इन्दिरा रानाको बचाउमा विज्ञप्ति निकालेको छ । आइतबार बिहान कार्यवाहक प्रवक्ता मनिष झाले विज्ञप्ति निकाल्दै यो ठूलो विषय नभएको भन्दै टालटुल पार्ने प्रयास गरेका छन् । यसको बचाउमा उनले यसअघि पनि कतिपय नेताहरूले भिसाकै लागि मौखिक र लिखित सिफारिस गर्ने गरेको भन्दै यो ठूलो विषय नभएको बताएका हुन् ।
विज्ञप्तिमा राम्रो छविकी उपसभामुख रानाको बदनाम गरेर क्षणिक पदीय फाइदाका लागि अनर्गल प्रचार गरिएको आरोप समेत लगाइएको छ । भिसाको लागि आग्रह गरिएका व्यक्तिहरू नेपालबाट बाहिर गएको अध्यागमनको रेकर्डमा नदेखिएको भन्दै यसलाई उचालिरहनुपर्ने विषय नरहेको पनि उनले बताएका छन् । पीडित भनिएकाहरूसँग पार्टी उपसभापति डीपी अर्यालले कुराकानी गरिसकेको र त्यसको रेकर्ड पार्टीमा सुरक्षित रहेको विज्ञप्तिमा उल्लेख छ ।