काठमाडौं । आज प्रतिनिधिसभामा प्रधानमन्त्रीसहित दुई प्रदेशसभामा मुख्यमन्त्रीहरूले विश्वासको मत लिँदैछन् । केन्द्रमा सत्ता गठबन्धन परिवर्तन भएसँगै विभिन्न दलहरूले समर्थन फिर्ता लिएपछि आज एकै दिन प्रधानमन्त्रीसहित दुई प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिन लागेका हुन् । जसमा दुई मुख्यमन्त्रीहरूको पद जाँदैछ भने प्रधानमन्त्रीले दुईतिहाइ मत पाउँदैछन् ।
असार २८ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले संसद्मा पेश गरेको विश्वासको मत बहुमत सांसदले अस्वीकृत गरेपछि प्रधानमन्त्री बनेका केपी शर्मा ओलीलाई आइतबार कुल १९४ सांसदले समर्थन गर्ने तय भएको छ । प्रचण्डले माओवादी केन्द्र, एकीकृत समाजवादी र रास्वपाको मात्रै ६३ मत पाएका थिए। उनको विपक्षमा १९४ मत परेको थियो ।
ओलीलाई कांग्रेस, एमाले, जसपा, लोसपा, जसपा नेपाल, नागरिक उन्मुक्तिसहितका दलले मत दिने तयारी गरेका छन्। उनको विपक्षमा माओवादी केन्द्र, एकीकृत समाजवादी, रास्वपा, राप्रपालगायत दलले मतदान गर्ने तयारी गरेका छन्। ओलीलाई कांग्रेसका ८८, नेकपा एमालेको ७८, अशोक राई नेतृत्वको जसपा ७, जनमत पार्टी ६, उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल ५, लोसपा ४, नागरिक उन्मुक्ति पार्टीका ४, स्वतन्त्र २ गरी १९४ मत पाउने सम्भावना छ।
त्यस्तै, आज वाग्मती प्रदेशसभा बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिएका छन् । नेकपा एमालेले माओवादी केन्द्रसँगको सत्तासाझेदारी तोड्दै नयाँ समीकरण बनाएपछि अल्पमतमा परेका जम्कट्टेल संवैधानिक व्यवस्था अनुसार आज विश्वासको मत लिन लागेका हुन् । उनको पक्षमा आफ्नै दल नेकपा माओवादी केन्द्रका २१, नेकपा (एकीकृत समाजवादी)का ७ र हाम्रो नेपाली पार्टीका दुई जना सांसद छन् । बागमती प्रदेशसभामा सात राजनीतिक दलको प्रतिनिधित्व रहेकोमा सबैभन्दा ठुलो दल कांग्रेसका ३७ र एमालेका २७ सांसद छन् । माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन् ।
उता लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज (आइतबार) प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् । ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा ११ दलको प्रतिनिधित्व छ । लुम्बिनीमा सरकार बनाउन ४४ सांसदको समर्थन चाहिन्छ । लुम्बिनीमा एमालेका २९ र कांग्रेसका २७ सांसद छन् । यस्तै, माओवादी केन्द्रका (सभामुखसहित) ११, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नागरिक उन्मुक्ति पार्टीका ४–४, जनता समाजवादी पार्टी (जसपा) २, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का ३–३, जसपा नेपाल, राष्ट्रिय जनमोर्चा र नेकपा (एकीकृत समाजवादी) र स्वतन्त्रका १–१ जना सांसद छन् ।