काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको व्यवसायी पोस्ने गरी दिएको निर्देशन कुलमान घिसिङले उल्लंघन गरेका छन् । जसरी पनि शुक्रबार नै डेडिकेटेड लाइन विवादका कारण बिजुली काटिएका उद्योगीहरूको लाइन जोड्न दिएको निर्देशन उल्लंघन गरेका हुन् ।
प्रधानमन्त्री ओलीले शुक्रबार अपराह्न ऊर्जामन्त्री दिपक खड्का एवम् उद्योगमन्त्री दामोदर भण्डारीसहित प्राधिकरणका पदाधिकारी र उद्योगीहरूसँग छलफल गरी कुनै पनि हालतमा काटिएको लाइन शुक्रबार नै जोडिदिन निर्देशन दिएका थिए । सोही बैठकमा घिसिङले सञ्चालक समिति बैठक बसेर यसबारे निर्णय लिने बताएपछि प्रधानमन्त्रीले आजै बोर्ड बैठक राख्न भनेका थिए ।
तर बैठकमा घिसिङले मन्त्रिपरिषद् बैठकबाट निर्णय नगरेसम्म लाइन जोड्न नसकिने बताएका थिए । त्यसपछि प्रधानमन्त्री ओलीको कुनै पनि हालतमा भन्ने निर्देशन फेल खाएको हो ।
अर्बौ पैसा नतिरेर राज्यलाई हानि पुर्याउने व्यवसायीको पक्षमा ओलीले निर्देशन दिएका थिए । डेडिकेटेड तथा ट्रंक लाइन विवादमा काटिएको ६ उद्योगको लाइन काटिएको छ । पैसा तिर्नभन्दा शक्तिकेन्द्रबाट मिनाहा गराउनतिर लागेका व्यवसायीहरूलाई प्रधानमन्त्रीले समेत ढाडस दिएपछि राज्यलाई अरबौं नोक्सानी हुने मामलामा व्यवसायीहरू हौसिएका हुन् ।