

काठमाडौं । उपसभामुख इन्दिरा रानाले कुनै सम्बन्ध नै नभएका पाँच जनालाई भिसा दिनका लागि अमेरिकी दूतावासलाई लेखेको पत्र विवादमा आएको छ । पत्रबारे विवाद बढ्दै जाँदा शुक्रबार रानाले स्पष्टीकरण दिएकी छन् ।
सभामुख देवराज घिमिरेले समेत यो विषय गम्भीर भनेपछि उनले शुक्रबार स्पष्टीकरण दिँदै यो गम्भीर विषय नभएको बताएकी हुन् । शुक्रबार उक्त कार्यक्रममा आफ्ना सहयोगी समेत हुने भएकाले अन्तर्वार्ताका लागि अनुरोध गरेको कारण आफूले अमेरिकी दूतावासलाई अन्तर्वार्ताका लागि मिति राख्न मात्रै अनुरोध गरेको उनले बताएकी छन्।
उनले विज्ञप्तिमा भनेकी छन् : ‘उक्त कार्यक्रममा मेरो लागि सहयोगी समेत भैदिने हुनाले अन्तर्वार्ताको लागि मिति लिईदिन अनुरोध गरेपछि मैले नेपालस्थित संयुक्त राज्य अमेरिकाको राजदूतावासलाई अन्तर्वार्ताको लागी मिति राखिदिन अनुरोध मात्र गरेको थिएँ,’ रानाले उल्लेख गरेकी छिन्, ‘कसैलाई भिसा दिने वा नदिने स्वः निर्णय राजदूतावासले आफ्नो नीति र प्रक्रिया बमोजिम गर्ने नै हुन्छ। मैले कसैको भिसाको लागि अनुरोध पनि गरेकी छैन। हैन।’
उता सभामुख देवराज घिमिरेले भने यो विषय गम्भीर रहेको भन्दै छुट्टै छलफल गर्न भनेका छन् । नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले कार्य व्यवस्था समितिको बैठकमा यस विषयमा कुरा उठाएपछि घिमिरेले यो विषय गम्भीर भएको भन्दै पछि छलफल गर्ने भने । सो बैठकमा उपसभामुख रानाले पनि स्पष्टीकरण दिन खोजेकी थिइन् । तर सभामुखले उनलाई पनि रोकेका थिए ।
अहिले रानामाथि नैतिकताको आधारमा राजीनामा दिन दबाब बढिरहेको छ । उता उनको पार्टी रास्वपा भने उनको यो मुद्दामा मौन बसेको छ ।