काठमाडौं खबर साउन ३, २०८१
काठमाडौं । काठमाडौंको बत्तीसपुतलीमा रहेको द्वारिकाज होटलकी सञ्चालक अम्बिका श्रेष्ठको निधन भएको छ । बिहीबार ललितपुरस्थित मेडिसिटी अस्पतालमा उनको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।
बाथ र निमोनिया रोगले सताएपछि उनलाई दुई महिनाअघि अस्पताल भर्ना गरिएको थियो । उनको स्वास्थ्य निरन्तर खराब बन्दै गएर बिहीबार निधन भएको अस्पताल स्रोतले जनाएको छ । उनले बुटिक होटलको रूपमा सञ्चालन गरेको द्वारिकाज होटल नेपालको नमुना हेरिटेज होटल पनि हो ।
उनी नेपाल हेरिटेज सोसाइटीकी अध्यक्ष समेत हुन् । महिला उत्थान र हेरिटज संरक्षणमा ५ दशक बिताएकी उनी फेडेरेसन अफ बिजनेस एन्ड प्रोफेसनल विमिन नेपालकी संस्थापक अध्यक्ष पनि हुन् । उनी गोर्खा दक्षिणबाहु चौथो, त्रिशक्तिपट्ट, स्पेनबाट गोल्डेन माइक लगायत पदकबाट सम्मानित छिन् ।