

काठमाडौं । नयाँ सरकार परिवर्तनसँगै नियुक्त भएका मन्त्री र प्रधानमन्त्री भेट्न भारतीय र चिनियाँ राजदूतबीच प्रतिस्पर्धा चलिरहेको छ । नयाँ सरकार गठन भएर प्रधानमन्त्री तथा मन्त्रीहरूले सपथ लिएको दिन नै दुवै देशका राजदूतहरूले प्रधानमन्त्री केपी शर्मा ओली र केही थान मन्त्रीलाई भेट्न भ्याए । यो क्रम बुधबारसम्म पनि रोकिएको छैन।
अहिले उनीहरूबीच कसले कति धेरै मन्त्रीहरूलाई भेट्ने र कसले छिटो भेट्ने भन्नेमा प्रतिस्पर्धा नै हुँदै आएको जस्तो देखिन्छ । पदभार ग्रहणको केही दिनपछि प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँगको शिष्टाचार भेटलाई सामान्य मान्न सकिन्छ । तर यहाँ प्रतिस्पर्धामा उत्रिका राजदूतहरूले आफूसँग सरोकर नै नभएका मन्त्रीहरूसँग समेत भकाभक भेटिरहेका छन् ।
नेपालमा कुनै पनि विषयमा सम्पर्क कर्नुपर्दा परराष्ट्र मन्त्रालयमार्फत् सम्पर्क गर्नुपर्ने हुन्छ । तर भारतीय राजदूत नवीन श्रीवास्तवले बुधबार गृहमन्त्री रमेश लेखकसँग पनि शिष्टाचार भेटे । भेटवार्ता गृहमन्त्रीको कार्यकक्षमा भएको थियो । यसअघि उनले मंगलबार परराष्ट्रमन्त्री आरजु राणा र सहरी विकास मन्त्री प्रकाशमान सिंहसँग उनीहरुको कार्यकक्षमा गई शिष्टाचार भेटवार्ता गरेका थिए । प्रधानमन्त्रीसँग त श्रीवास्तवले सोमबार पदभार ग्रहण गरेको केही समयमा नै भेट गरेका थिए । बुधबार नै श्रीवास्तवले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग पनि भेट गरे ।
उता चिनियाँ राजदूत छन् सोङले भने प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग मात्रै भेट गरेका छन् । सोमबार पदभार ग्रहण गरेको केही समयमा नै सिंहदरबार पुगेर भेट गरेका उनले बुधबार परराष्ट्रमन्त्री आरजु राणासँग भेट गरे । नेपालमा नयाँ सरकार गठन हुने वित्तिकै प्रधानमन्त्री र मन्त्रीहरुलाई भेट्न भारतीय र चिनियाँ राजदूतहरुको अघोषित प्रतिस्पर्धा नै हुने गरेको छ । यो विगत लामो वर्षदेखि चल्दै आएको छ ।
प्रधानमन्त्री तथा मन्त्री भएपछि पहिला ब्रिफिङ लिने अन्तर्राष्ट्रिय अभ्यास छ । यस्तो प्रमुख देशका बारेमा ब्रिफिङ लिएको एक सातापछि विस्तारै कूटनीतिक भेटघाट सुरु गरिन्छ । तर यहाँ भने मन्त्री प्रधानमन्त्रीसँग सपथसँगै सिधै राजदूतहरूले भेट गर्नुलाई कूटनीतिक क्षेत्रका जानकारहरूले उचित मान्ने गरेका छैनन् ।