

काठमाडौं । नेपाली काँग्रेसको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका एमाले अध्यक्ष केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको सपथ खाँदैछन् । बिहान ११ बजे राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सपथ लिने तयारी रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
शीतल निवासमा आयोजना हुने विशेष समारोहमा प्रधानमन्त्री ओलीले सपथ लिएपछि काँग्रेस र एमालेबाट मन्त्री भएर जानेहरूको पनि सपथ आजै सम्पन्न गर्ने तयारीमा दुवै दल रहेको बुझिएको छ । यसका लागि नेपाली काँग्रेसले लगभग मन्त्रीहरूको नाम पक्का गरिसकेको छ भने एमालेबाट मन्त्री छान्ने जिम्मा अध्यक्ष ओलीले नै पाएका छन् । अत: दुवै पार्टीले ओलीले सपथ लिए लगत्तै मन्त्रीको सपथ दिने गरी मन्त्री छान्न लागेको बुझिएको छ ।
राष्ट्रपति पौडेलले आइतबार नेपालको संविधानको धारा ७६(२) बमोजिम नेपाली कांग्रेस र नेकपा (एमाले)को समर्थनमा एमालेका अध्यक्ष ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । प्रतिनिधिसभाका दुई ठूला राजनीतिक दल कांग्रेस र एमालेबीचको यही असार १७ गते भएको सहमतिका आधारमा अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त हुन भएको हो । राष्ट्रपति पौडेलले शुक्रबार प्रतिनिधिसभामा रहेका दुई वा दुईभन्दा बढी दललाई प्रधानमन्त्रीको दाबी पेस गर्न आइतबार अपराह्न ५ बजेसम्मका लागि समय दिएका थिए ।