काठमाडौं । नेपाली काँग्रेसले मन्त्रीहरूको नाम टुङ्ग्याएको छ । संस्थापन र इतर समूहको गरी ९ जनाको नाम टुंगो लागेको हो । जसमा ४ जना संस्थापन इतरका रहेका छन् । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले सपथ खाने बेलामा नै केही मन्त्रीहरुले सपथ खाने सम्भावना रहेको छ ।
स्रोतका अनुसार ऊर्जा मन्त्रालयको जिम्मेवारी र उपप्रधानमन्त्रीको रूपमा प्रकाशमान सिंहले सरकारमा काँग्रेसको तर्फबाट नेतृत्व गर्ने भएका छन् । त्यस्तै, गृह मन्त्रालयमा रमेश लेखक, परराष्ट्रमा आरजु देउवा, वन वा कानुन मन्त्रालयमा अजय चौरसिया र सहरी विकासमा किशोरसिंह राठौरको नाम लगभग पक्का भएको बुढानीलकण्ठ स्रोतले जनाएको छ । यसरी संस्थापनको तर्फबाट कुल ५ जना मन्त्री जानेछन् ।
यस्तै, संस्थापन इतर समूहले यसपालि ४ मन्त्री पाएको छ । गगन थापा र शेखर कोइरालाको टिमबाट स्वास्थ्यमा प्रदीप पौडेल, पर्यटनमा रामनाथ अधिकारी, कानुन वा कुनै एकमा हृदयराम थानी र ऊर्जा वा अर्को कुनै मन्त्रालयमा तेजुलाल चौधरीको नाम तय भएको छ ।
उनीहरूको सकेसम्म भोलि नै सपथ गराउने तयारी रहेको छ ।