काठमाडौं खबर असार ३०, २०८१
काठमाडौं । नेपाली काँग्रेसको समर्थनमा प्रधानमन्त्री बन्नका लागि दाबी पेश गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीको नियुक्त आइतबार साँझ हुने भएको छ । साँझ ५ बजेसम्म प्रधानमन्त्रीका लागि दाबी पेश गर्ने समय दिइएकोले ५ बजेपछि मात्रै ओलीको नियुक्ति हुने बताइएको छ । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार ओलीलाई आइतबार नियुक्ति दिएर सोमबार सपथ खुवाउने सम्भावना देखिएको छ ।
धारा ७६ (२) को व्यवस्था अनुसार शुक्रबार नयाँ सरकारका लागि दाबी आह्वान गरिएकोमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्रीका लागि शुक्रबार नै दाबी पेस गरेका थिए । राष्ट्रपति पौडेलले दाबी पेस गर्ने समय सकिएपछि आइतबार साँझ प्रधानमन्त्री पदमा नियुक्त गर्नेछन् । त्यस्तै आइतबार समय ढिला हुने भएकाले सोमबार बिहान ११ बजे प्रधानमन्त्री र मन्त्रीहरूको शपथग्रहण कार्यक्रम हुने प्रेस सल्लाहकार पोखरेलले बताए ।
काँग्रेसबाट मन्त्री छान्न मापदण्ड तयार पारिँदै
उता ओली नेतृत्वको सरकारमा जानका लागि नेपाली काँग्रेसले मापदण्ड तयार पारेर सोही आधारमा मन्त्री पठाउने भएको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले नयाँ बन्ने सरकारमा पठाउने मन्त्रीहरू छनोटका लागि मापदण्ड बनाउने निर्णय गरेको हो । पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले मन्त्री छनोटका लागि मापदण्ड बनाउने निर्णय गरेको प्रवक्ता डा प्रकाशशरण महतले सञ्चारकर्मीलाई जानकारी दिए । भौगोलिक, प्रादेशिक एवं समावेशी सन्तुलन, योग्यता र योगदानलाई आधार मानेर मन्त्री छनोटको मापदण्ड तय गरिने उनले बताए।
कुन मन्त्रालयको जिम्मेवारी कसलाई दिने भन्ने विषयमा कांग्रेसले गृहकार्य गरिरहेको छ । प्रधानमन्त्रीको सपथग्रहणसँगै मन्त्रीले पनि सपथग्रहण गर्नेगरी तयारी भइरहेको कांग्रेसले जनाएको छ ।