काठमाडौं । नेपाली काँग्रेस र नेकपा एमालेका करि १६६ सांसदको समर्थन रहेको दाबीसहित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री नियुक्तिका लागि राष्ट्रपति कार्यालयमा निवेदन दिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्री पदका लागि दाबी पेस गर्न आह्वान गरेको केही मिनेटमै काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षर गर्दै दाबी पेश गरेका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाको बैठकमा विश्वासको मत नपाएको सूचना संसद् सचिवालयबाट आएसँगै राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि यही असार ३० अपरान्ह ५ बजेभित्र दाबी पेस गर्न आह्वान गरेका थिए ।
राष्ट्रपति कार्यालयले आइतबारसम्मको समय दिएकाले आइतबार साँझ नै केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने र सपथ ग्रहण गर्ने सम्भावना रहेको छ ।