काठमाडौं खबर असार २९, २०८१
काठमाडौं । आज आदिकवि भानुभक्तको दुई सय ११औँ जन्मजयन्ती मनाइँदैछ । संस्कृत भाषामा लेखिएको रामायणलाई नेपाली भाषामा सरल र सरस भाषामा अनुवाद गरेका आचार्यले आफ्नै कवितात्मक कृतिहरू पनि सार्वजनिक गरेका छन् ।
यही योगदानलाई सम्मान गर्दै उनलाई राज्यले आदिकविको उपाधि समेत दिएको छ । यिनै आचार्यद्वारा अनुवादित रामायणलाई घरघरमा पाठ गरी भानुजयन्ती मनाउने गरिएको छ । यस अवसरमा भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा काम गर्ने संस्थाले आज विभिन्न कार्यक्रम गरी भानुजयन्ती मनाउँदै छन् ।
नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेको मान्ने गरिन्छ । विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिनुभएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ति उपदेश दिएकाले उनी रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएको बताइन्छ ।
‘वधुशिक्षा’ उनको अर्को प्रसिद्ध कृति हो । यसैगरी, उनका ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायत कृति छन् । कुमारी चोकको हिसाब मिलाउन नसकेर झ्यालखानामा परेका आदिकवि आचार्यले सरकारी कार्यलयमा हुने ढिलासुस्ती र ‘भोलिवाद’ का कट्टर विरोधी भएर कवितामा भोलिको विरोध गर्दै लेखेका थिए, ‘भोलिभोलि भन्दैमा सब घर बितिगो बक्सियोस् आज झोली ।’