काठमाडौं । राष्ट्रपति कार्यालयले नयाँ सरकार गठनका लागि दलहरूसँग प्रस्ताव आह्वान गरिएको छ । शुक्रबार राति करिब ८ बजेतिर राष्ट्रपति कार्यालयले सूचना जारी गर्दै नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम बहुमत प्राप्त गर्न सक्ने दलका नेतासँग प्रस्ताव माग गरिएको हो । कार्यालयले आइतबार साँझ ५ बजेसम्म प्रस्ताव पेस गर्न समय दिएका छन् ।
योसँगै काँग्रेस र केही साना दलहरूको सहमतिमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने निश्चित भएको छ । धारा ७६(२) मा प्रतिनिधि सभाका दुई वा बढी दल मिलेर सरकार बनाउन सक्ने प्रावधान छ। कतिपयले धारा ७६(२) को प्रधानमन्त्रीले विश्वासको मत पाउन नसके स्वतः उपधारा ३ मा जानुपर्ने तर्क गरेका थिए। यसमा राष्ट्रपतिले के निर्णय गर्छन् भन्ने आम चासोको विषय बनेको थियो।
राष्ट्रपति पौडेलले शुक्रबार साँझ केही कानुनविद्लाई बोलाएर पनि परामर्श गरेका थिए। अधिकांश कानुनविद्ले ७६ (२) अनुसार संयुक्त सरकारका लागि आह्वान गर्नुपर्ने राय दिएका थिए । राष्ट्रपतिले संयुक्त सरकारका लागि आह्वान गरेपछि संसदका सबैभन्दा ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर नयाँ सरकार गठनका लागि बाटो खुलेको छ। यी दुवै दलले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने सहमति गरेका छन्।