काठमाडौं । प्रचण्ड सरकार काम चलाउ भएको राष्ट्रपति कार्यालयले घोषणा गरेको छ । कार्यालयले शुक्रबार साँझ एक विज्ञप्ति जारी गर्दै यो सरकार कामचलाउ भएको घोषणा गरेको हो । अब अर्को मन्त्रिपरिषद् गठन नभएसम्मका लागि अत्यावश्यक कामहरू वर्तमान मन्त्रिपरिषद्ले सञ्चालन गर्ने गरी जिम्मेवारी तोकिएको हो ।
कार्यालयको विज्ञप्तिमा भनिएको छ “प्रधानमन्त्री दाहालले संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधिसभाको आजको बैठकमा राख्नुभएको विश्वासको मतसम्बन्धीको प्रस्ताव सोही धाराको उपधारा (३) बमोजिम सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य सङ्ख्याको बहुमतबाट पारित हुन नसकेको व्यहोरा सङ्घीय संसद् प्रतिनिधिसभा सभामुखको यही असार २८ गतेको पत्र प्राप्त हुन आएकाले संविधानबमोजिम यही मन्त्रिपरिषद्ले कार्यसञ्चालन गर्नेगरी तोक्नुभएको छ”, कार्यालयकी प्रवक्ता शैलजा भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
कहिले होला नयाँ सरकार गठन ?
प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत नपाएपछि नयाँ गठबन्धन भने नयाँ सरकार गठनको तयारीमा जुटेको छ । राष्ट्रपति रामचन्द्र पौडेलबाट नयाँ सरकार गठनका लागि आह्वान भएलगत्तै नयाँ प्रधानमन्त्रीका लागि दाबी पेस गर्न नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले)सहितका दलले तयारी गरेका हुन् ।
एमालेका प्रमुख सचेतक महेश बर्तौलाले दुई दलको सहमतिबमोजिम एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नयाँ प्रधानमन्त्रीका रुपमा राष्ट्रपतिसमक्ष दाबी पेस गर्ने तयारीमा आफूहरु रहेको जानकारी दिए। प्रमुख सचेतक बर्ताैलाले राष्ट्रपति पौडेलले प्रधानमन्त्रीको विश्वासको मत असफल भएको जानकारी पाएपछि सम्भवतः आजै वा भोलिसम्ममा नयाँ सरकार गठनका लागि आह्वान गर्ने र उक्त आह्वानका आधारमा आफूहरु प्रक्रियामा सहभागी हुने बताए ।